Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

लिउ चियान छाओद्वारा नेकपा एमाले बूढानीलकण्ठको पार्टी कार्यालय अवलोकन


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीको कार्यालयको अवलोकन गरेका छन् ।

नेपालको ४ दिने भ्रमणमा रहेका प्रमुख  लिउ सहितको टोलीले बुढानीलकण्ठ नगर कमिटी र वडा नं ८ का बारेमा जानकारी लिनुका साथै स्थानीय कमिटी परिचालन र सञ्चालनका बारेमा छलफल समेत गरेका थिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई, प्रदेश कमिटी सदस्य तथा बुढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा, नगर कमिटीका अध्यक्ष प्रदीप डङ्गोल, उपाध्यक्ष शम्भु भट्टराई, सचिव श्रीकृष्ण श्रेष्ठ,उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहित वडा नं १३ र ५ का सांस्कृतिक समूहले चिनिया टोलीलाई नगर तथा वडा कार्यालयमा स्वागत गरेका थिए ।

नेपालका कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरूको अवस्था, सञ्चालन प्रक्रिया र सहभागिताका बारेमा जानकारी लिने चिनिया टोलीको तालिका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयमा अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदीप डङ्गोलले बागमती पेजलाई जानकारी बागमती पेजलाई दिएका छन् ।

चिनिया टोलीको सो भ्रमणका अवसरमा बुढानीलकण्ठ नगरपालिकाका बारेमा अध्यक्ष प्रदीप डङ्गोलले जानकारी गराएका थिए भने सङ्गठन र त्यसको अवस्थाका बारेमा सचिव श्रीकृष्ण श्रेष्ठले व्याख्या गरेका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ उपत्यका मै नेकपा एमालेले सानदार जितप्राप्त गरेको बुढानीलकण्ठ नगरपालिकामा चिनिया विदेश विभाग प्रमुखको आगमन हुनु निकै सुखद कुरा रहेको भन्दै नगर कमिटी अध्यक्ष डङ्गोलले  सो टोलीले निकै सूक्ष्म रूपमा सङ्गठन र परिचालनका बारेमा जिज्ञासा राख्नुका साथै आगामी दिनमा थप सहकार्यका बारेमा कुरा भएको बताएका छन् ।