Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

कालिज फार्ममा चितुवा पस्यो, ५ सय भन्दा बढी कालिज मरे


काठमाडौँ । दोलखाको सदरमुकाम चरीकोट नजिकैको कालिज फार्ममा चितुवा पसेर ५ सयभन्दा बढी कालिज मारेको छ । भीमेश्वर नगरपालिका– ७ मा रहेको दूधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिसोर्टमा शनिबार राति पसेको चितुवाले ५ सयभन्दा बढी कालिज मारेको हो ।

फार्ममा पसेको चितुवालाई आइतबार दिउँसोसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । आइतबार बिहान फार्ममा काम गर्ने मजदुरले कालिज मरेको देखेपछि के भयो भनेर पस्दा चितुवाले आक्रमण प्रयास गरेको थियो ।

फार्ममा पसेको चितुवा स्थानीयले लखेट्ने प्रयास गरे पनि सबैतिर तारजाली लगाएका कारण चितुवाले स्थानीयलाई नै आक्रणमको प्रयास गरेको छ । स्थानीयहरूले भने नियन्त्रणमा लिन नसकेपछि चितुवालाई ढुंगामुढा गरेर घाइते बनाएका छन् ।

डिभिजल वन कार्यालयबाट खटिएका कर्मचारीले चितुवा नियन्त्रण गर्न नसकेपछि थप जनशक्ति र साधन मगाइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताए ।

पछिल्लो समय यसरी मानव बस्तीमा वन्यजन्तुहरू छिरेर ट्र्यापमा पर्ने क्रम बढ्दो छ । वन्यजन्तु संरक्षणकर्मीहरूले भने यस्तो अवस्थामा वन्यजन्तुलाई आक्रमण नगरिकन सुरक्षित स्थानमा फर्काउनुपर्ने बताउँदै आएका छन् ।