Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

गगन थापा भेट्न पुगे बालेन, के-के भयो कुराकानी ?


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। उनीहरुका बीचमा बुधबार भेटवार्ता भएको हो। यद्यपि, महामन्त्री थापाले बिहीबार अपरान्ह मात्रै भेटवार्ताका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

तस्बिरसँगै उनले भेटवार्तामा काठमाडौँको फोहोर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको उल्लेख गरेका छन्। महामन्त्री थापाले काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने पनि बताएका छन्।

‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो,’ उनले लेखेका छन्, ‘काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ।’

त्यस्तै शाहले तत्कालै २/५ अर्ब खर्चेर मेसिन ल्याउन सकिए पनि फोहोर व्यवस्थापन तुरुन्तैलाई नभइ ३०/५० वर्षसम्म दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको बताएका छन् ।

‘हामीले हरेक महिनाको हरेक सोमबार महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणसँग छलफल गर्छौँ। अब हामीले आत्तिएर पैसा खर्च गर्दैनौँ’, उनले भने, ‘२५ अर्बको बजेट व्यवस्थितरुपमा खर्च गर्छौँ। काम नदेखियोस् तर ५०/१०० वर्षका लागि हुने गरी काम गर्ने दिशामा छौँ।’

शाहले बरु एक वर्ष गाली खाने तर उपत्यकालाई थप बिग्रिन नदिने बताए। ‘बरु एक वर्ष हामी महानगरबासीबाट गाली खान तयार छौँ’, उनले भने, ‘उपत्यकालाई बिग्रिनबाट जोगाउनुपर्छ। हामीलाई सय तले भवन चाहिएको छैन। अहिले नै ३० तलाको भवनमा पर्यटक राख्नु भन्दा होम स्टेमा राख्नु ठीक हो। तला बढाउनेभन्दा घर घरमा पर्यटक राखेर आम्दानी दिलाउनु राम्रो हो।’

सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताए ।शाहले यो महानगरमा वर्ष १२ अर्बजति राजस्व संकलन हुने बताउँदै काठमाडौंले भोगेको समस्या र अरुको समस्या फरक रहेको उल्लेख गरे।

‘काठमाडौंबाट सिक्ने कुरा धेरै छन्। साना साना कुराहरु छन् ती समस्या अरु नगरले पनि भोग्नुपर्ने हुन्छ’, उनले भने, ‘पानी, फोहोर र पब्लिक ट्रान्सपोटेसनको समस्या छ यहाँ।

मेलम्चीको पानी खानुपर्ने होइन काठमाडौं उपत्यकाले। तर हामीले ढुंगेधारा र हिटीबाट पानी खाइरहेको सहर बिगार्यौँ। सिमेन्ट प्रयोगले काठमाडौं बिग्रियो। गिटी हाल्ने र नदी नाला मास्ने काम भएको छ।’

शाहले कम्तीमा आठ आनाभन्दा तल घर बनाउनै नदिएको भए काठमाडौंमा पानी रिचार्ज सम्भव हुने बताए। ‘मिनिमम आठा आना भन्दा तल घर बनाउन नदिएको भए पानी रिचार्ज गर्न सकिन्थ्यो। तर पनि हामी पानी रिचार्जलाई हामी बढाउँछौँ’, उनले भने, ‘ढल निर्माण भइरहेको छ। तर त्यही ढलमा वर्षाको पानी मिसाउनु हुँदैनथ्यो। पानी पनि ढलमै हालिदिँदा रिचार्ज हुनै पाएन।’