Logo

बागमती पेज

भाद्र १९, २०७९ आईतबार

असन र इन्द्रचोक आसपासका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक र भेडासिंहमा रहेका मन्दिर र त्यस आसपास क्षेत्रमा अवैधरुपमा सञ्चालित पलस हटाउन २४ घण्टे निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष राजेश शाक्यले आइतबार उक्त क्षेत्रमा अवैधरुपमा रहेका पसल २४ घण्टाभित्र हटाउन सूचना टाँस गरिएको जानकारी दिए ।

असन चोकका साथै असनबाट ट्यौडा, बाङ्गेमुढा जाने बाटो र आसपास क्षेत्रमा भएका, इन्द्रचोकमा रहेको पस्मिनाको खास्टो पसल, भेडासिंहमा रहेका माटोको भाँडाकुँडा पसल लगायत तत्काल हटाउन निर्देशन दिइएको उनले जानकारी दिए ।

मन्दिर तथा सम्पदा क्षेत्रमा रहेका पसल नहट्दा महानगर, वडा कार्यालय के हेरेर बसेको छ भनेर बारम्बार प्रश्न उठेका कारण पसलहरु बन्द गर्न लागिएको उनले बताए ।

‘वडाले २४ घण्टाभित्र ति क्षेत्रमा रहेका पसलहरु २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छौं, ’उनले भने, ‘पसलहरु भोलिसम्म नहटाएमा मंगलबार साढे ११ बजे वडा कार्यालय, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा हटाइने छ ।‘

उक्त क्षेत्रमा रहेका पसल कारण महानगरको सौन्दर्य विग्रेको, पर्यटक धेरै घुम्ने क्षेत्र भएकाले उनीहरुमा राम्रो छाप नपरेका कारण हटाउन बाध्य भएको उनको तर्क छ । अध्यक्ष शाक्यले बाङ्गेमुढामा रहेको हनुमान पार्टीमा राखिएको पसलहरु पनि हटाइने बताए ।