Logo

बागमती पेज

भाद्र २४, २०७९ शुक्रबार

सुरु भयो काठमाडौँ जिल्ला व्यापी अन्तर विद्यालय फुटसल टुर्नामेन्ट


काठमाडौँ । काठमाडौँ जिल्ला स्तरीय अन्तर विद्यालय फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको कपअन स्पोर्टस सेन्टरको फुटसल ग्राउन्डमा सुरु भएको हो ।

नेपालमा युरोपियन स्तरको फुटबल एकेडेमी सञ्चालन गर्दै आएको कपअन स्पोर्टस सेन्टरको सुविधा सम्पन्न ग्राउन्डमा टुर्नामेन्टको आयोजना गरिएको छ । यस कारण पनि यस पटकको टुर्नामेन्ट सभ्य, भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ खेलकुद समाजको आयोजना तथा कपअन स्पोर्टस सेन्टर र काठमाडौँ किकर्स एकेडेमीको सहकार्यमा ‘सेभेन ए साइड’ फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको हो ।

काठमाडौँ खेलकुद समाजका अध्यक्ष बद्री भट्टराईको सभापतित्वमा बिहीबार उद्घाटन कार्यक्रम गर्दै प्रतियोगिताको सुरुवात गरिएको थियो । उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शेर्पाले लगायत आमन्त्रित अतिथिहरूले संयुक्त रूपमा रेफ्रीलाई बल हस्तान्तरण पश्चात् प्रतियोगिताको औपचारिक सुरुवात भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले सहभागी खेलाडीहरूलाई शुभकामना दिएका थिए । उनले भने, कार्यक्रम भव्य रूपमा सम्पन्न हुनेमा विश्वस्त छु । भव्य ग्राउन्डमा विद्यार्थीहरूले खेल खेल्ने अवसर पाउनु भएको छ । यसको सदुपयोग गर्दै आफ्नो खेल कौशलतालाई अझै राम्रो गर्नुहोला ।

टुर्नामेन्टमा काठमाडौँका १७ विद्यालयहरू सहभागी भएका छन् । विजयी प्रथम, द्वितीय टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।