Logo

भवानी कार्की

भाद्र २९, २०७९ बुधबार

चेतनाथ गौतमको ‘मनसँग बात मार्दा’ विमोचन


काठमाडौँ । कवि चेतनाथ गौतमको ‘मनसँग बात मार्दा’ नामक कविता संग्रह विमोचन गरिएको छ । कवि गौतमको ७६ औं जन्म जयन्तिको अवसर पारेर कविता संग्रह लोकार्पण गरिएको हो ।

कान्तिभैरव गुरुकुल विद्यालयमा गरिएको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा नाष्टका अध्यक्ष खगराज बरालको प्रमुख आतिथ्यतामा कविता सङ्ग्रह लोकार्पण गरिएको थियो ।

कविता सङ्ग्रह ‘मनसँग बात मार्दा’का लेखक चेतनाथ गौतमले सबैभन्दा पहिला कुनैपनि कुरा मान्छेको मनमा खेल्छ, र मन–मनसँगै बातमार्न मनलाग्छ । मनको कुरा अरुसँग पोख्न नमिल्ने हुन्छ त्यसैले मनका भावनाहरु किताबमा उतारेको कवि गौतमको भनाई छ । मनसँग बात मार्दा कविता सङ्ग्रहमा ४५ वटा शिर्षकमा मनका बातहरु कविता मार्फत उतारेको उनले बताए ।

सङ्खुवासभाको पाँचखपन नगरपालिका–३ मा जन्मिएका कवि चेतनाथ गौतमले कक्षा ५ मात्र अध्ययन गरेका छन् । उनले जीवनका तीता मिठा अनुभव बटुलेर पुस्तक मार्फत उतार्न धेरै संघर्ष गरेका थिए । प्रतिभाशाली गौतममा न कुनै शास्त्र ज्ञानको प्रयोग पाईन्छ नत कुनै अथक साधना पाईन्छ ।

कार्यक्रमका प्रमुख अतिथि खगराज बरालले कवि गौतमले लेखेका कवितालाई मनन् गर्दै आमाबावुलाई सन्तानले गरेका मायामोहको अभावको आभाष कहिल्यै नहोस् र परिवारलाई सदैव आशिर्वाद दिन पाईयोस् भन्ने कुरालाई गहकिलो रुपमा उतारिएको बताए ।

कवि गौतम भित्र रहेका प्राकृतिक कलाको उपज नै उनका कविता हुन् । मनसँग बात मार्दा कविता संग्रह भित्र कविले हराएको सुनको औठीको चिन्तालाई समेत कवितामा उतारेका छन् । कविताको माध्यमबाट नयाँ पुस्तालाई आशिर्वाद दिने ज्ञान समेत रहेको उनको कवितामा पाईन्छ ।

कवि गौतमका केही कविताहरु अत्यन्तै गम्भिर र दार्शनिक रहेको समेत पाईन्छ । उनले लेखेका घरजग्गा चट्टै छोडी, सुन हरायो नासो गुनासो, जीन्दगी छ कि छैन, आमाको परलोक र गुनिलो मोही शिर्षकका कविताहरु अत्यन्तै मर्म स्पर्शि रहेको पाईन्छ ।

कान्तिभैरव गुरुकुलका गुरु ददिप्रसाद पराजुलीले जीवनका उकाली ओरालीमा भोगेका तीता मिठा भोगाईहरु कविता सङ्ग्रहमा पढ्न सकिने बताए । उनका अनुसार कविता रचना गर्न धेरै कुराको ज्ञान आवश्यक हुन्छ । जसरी धेरै विषयवस्तु समेटीएर कविता रचना गरिन्छ, त्यस्तै तयार गरिएको रचना व्याख्या गर्न गार्हो हुने बताए । कविताको भाषा सरल, छन्द, साहित्यशास्त्र लगायत अन्य विधिको समेत कवितामा प्रयोग गरिएको जनाएका थिए ।

कार्यक्रमका सभापति होमनाथ गौतमले कविता मनसँग बात मार्दा भित्र बाल्यकालदेखि भोगेका देखेका कुराहरुलाई समेटिएको बताए । त्यसैगरी आयोजक गौतम परिवारका गेहनाथ गौतमले कुनैपनि व्यक्तिको मनको भावनालाई उजागर गर्ने उदेश्यले जीवनमा घट्ने पारिवारिक घटनाहरुलाई बटुलेर पुस्तक मार्फत झल्काईएको जनाए । मनसँग बात मार्दा कवितामा विभिन्न विषयवस्तु सामाजिक, राजनीतिक, संस्कृतिक विषयलाई समेटिएको जानकारी दिए ।