काठमाडौँ। बालविवाह रोक्न तथा छोरीलाई उच्च शिक्षामा प्रोत्साहित गर्न स्नातक पास गर्ने छोरीलाई एक लाख रुपैयाँ दिने व्यवस्था सिन्धुलीको मरिण गाउँपालिकाले गरेको छ ।
कम उमेरमै विवाह गर्नेहरू धेरै देखिन थालेपछि अशिक्षित पालिका हुने डर देखिएका कारण र महिलाहरुलाई आत्मनिर्भर बनाउन शिक्षाप्रति लगाव बढोस् असारमा सम्पन्न कार्यपालिका बैठकमा यस किसिमको निर्णय गरेको हो ।
महिलालाई शिक्षित बनाई आत्मनिर्भरतर्फ उन्मुख गराउन पालिकाले यस्तो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताएका छन् । ‘विवाह नगरी स्नातक पास गरे एक लाख रुपैयाँ दिन्छौं– पालिका प्रमुख मुक्तानले भने, “स्नातक पास गर्ने उमेर पुग्दा महिला परिपक्व हुने र आफ्नो निर्णय आफै गर्न सक्ने हुन्छन् जसरकारण समाजलाई सचेत गराउन सहयोग पुग्छ ।”
उक्त निर्णय कार्यान्वयनको चरणमा आइपुगेको उनले बताए । ‘पालिकाभित्रका छात्राको तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘२०७९ सालमा स्नातक गरेका तर विवाह नगरेका छोरीहरूले समेत नगद पाउनेछन् ।’
एसइई सकिनेबित्तिकै कक्षा ११ र १२ को अध्ययन निरन्तरताका लागि गाउँपालिकाले छात्रालाई साइकल दिने कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । उक्त कार्यक्रमकै कारण कक्षा ११ र १२ को अध्ययनममा रुचि देखाउन थालेपछि उनीहरूलाई स्नातकसम्म र्पुयाउन एक लाख रुपैयाँ दिने योजना बनाइएको अध्यक्ष मुक्तानले बागमती पेजलाई जनाए । उनले भने, ‘बालविवाह रोक्नु र उच्च शिक्षासम्म महिलाको पहुँच र्पुयाउनु हाम्रो उद्देश्य हो ।’
स्नातकसम्म अध्ययन गर्न पालिकाभित्रै क्याम्पस रहेको पनि उनले जानकारी दिए । ‘अन्य पालिकामा गएर स्नातक गरे पनि हुन्छ तर हाम्रो नगरवासी नै हुनुपर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्