Logo

बागमती पेज

कार्तिक २, २०७९ बुधबार

ऋण नर्तिने क्रम बढेपछि दोलखाका सहकारी धितो लिलाम गर्दै


काठमाडौँ । सहकारीबाट ऋण लिएर नतिर्ने क्रम बढेपछि दोलखाका सहकारी संस्थाहरुले धमाधम धितो लिलाम गर्न थालेका छन् । खराब कर्जा बढ्दै गएपछि जिल्लाका सहकारी संस्थाहरुले धितो लिलाम गर्न थालेका हुन् ।

जिल्लाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गत असोज २५ गते ८ जनाको धितो लिलाम गरेको छ । जनसचेतन साकोसले गत भदौ २१ गते ३५ दिने सूचना जारी गरी ऋणको भाका नाघेका १४ जना ऋणिको नाम प्रकाशित गर्दै समयमै कर्जा तिर्न आग्रह गरेको थियो । ति मध्ये ८ जनाले कर्जा चुक्ता नगरेपछि धितो लिलाम गरिएको हो ।

चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओ ईश्वर न्यौपानेले बिगतको तुलनामा संस्थामा खराब कर्जा बढेकाले समयमै कर्जा नतिर्ने सदस्यहरुलाई ऋण तिर्न ताकेता गरिएको जानकारी दिए । यद्यपि समयमा ऋण नतिरे धितो लिलाम प्रक्रियामा जाने बिषयमा छलफल भैरहेको सिईओ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सहकारीले २०७५ सालमा ५ जनाको धितो लिलाम गरी संस्थाको कर्जाको साँवा र व्याज असुली गरेको थियो ।

जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले पनि ३५ दिने सूचना जारी गरी ऋणिहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । एकीकृत फ्रेण्डसिप साकोसले २५ जना ऋणिहरुको नाम सार्वजनिक गर्दै समयमै ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको हो । सहकारीले सम्बन्धित व्यक्तिले ऋणको सम्पूर्ण सावाँ तथा सो संस्थाको नियमानुसार लाग्ने ब्याज र बिलम्ब शुल्कसमेत फस्र्यौट गर्न ऋणिहरुलाई आग्रह गरेको छ ।

अन्यथा कानुन बमोजिम संस्थाले आफ्नो लिनुपर्ने रकम सावाँ, ब्याज र बिलम्ब शुल्क समेत असुल गरी लिने र ऋण नतिर्ने व्यक्तिहरुको नाम कालोसूचीमा समावेश गरी नियामक निकायमा जानकारी गराउने चेतावनी समेत दिएको छ ।