Logo

बागमती पेज

मंसिर १३, २०७९ मंगलबार

दोलखामा आगामी निर्वाचनका लागि सुरक्षा निकायको तयारी यस्तो छ


काठमाडौं ।दोलखाको १० मतदान केन्द्रमा विहिबार पुनः निर्वाचन हुने भएपछि जिल्लामा निर्वाचनको तयारी तीब्र पारिएको छ । दोलखामा आगामी निर्वाचनका लागि राजनीतिक दल, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सुरक्षा निकाय निर्वाचनको तयारीमा जुटेका हुन् ।

यही मंसिर १५ गते विहिबारका दिन बैतेश्वर र तामाकोशी गाउँपालिकाको ४ मतदानस्थलको १० मतदान केन्द्रमा निर्वाचन हुँदैछ । गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपनि निर्वाचन आयोगले नेकपा एमालेको उजुरीको आधारमा दोलखाको १० मतदान केन्द्रको मतदान रद्ध गरेर रि–इलेक्सनको घोषणा गरेको हो ।

सो स्थानमा पुनः निर्वाचन गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सोमबार निर्वाचनको मिति तय भएको थियो । जिल्ला निर्वाचन व्यवस्थापन समितीको सोमबार बसेको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेपछि जिल्लाभर पुनः निर्वाचनका लागि चुनावी माहोल बढेको छ ।

यो सँगै अहिले राजनीतिक दलहरु भेटघाट र लविङमा व्यस्त देखिएका छन् भने राजधानीबाट मतदाता गाउँ ल्याउन लागि परेका छन् । नेपाली कांग्रेसले हिजो विज्ञप्तीनै निकालेर आसन्न निर्वाचनमा सहयोग गरी गठबन्धनलाई जिताउन अपिल गरेको छ ।

यसअघि स्वतन्त्र र भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुन नसकेको आयोगले ठहर गरेपछि सुरक्षा निकायपनि भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनका लागि त्यसतर्फ केन्द्रित भएका छन् ।

दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले मतदान हुने केन्द्रहरुलाई सुरक्षा दिन प्रहरी टोली खटाउन थालिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दोलखाले करिब ६ सय सुरक्षाकर्मी ४ मतदानस्थलको १० मतदान केन्द्रमा खटाउने तयारी गरेको जनाएको छ । साथै, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आफ्नो टोली परिचालन गर्नेछन् । जिल्लाका सुरक्षाकर्मीले नपुगेमा आवश्यक सुरक्षाकर्मी बाहिरबाट मगाइने योजना रहेको जिल्ला प्रहरी कार्यालयको तयारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि निर्वाचनका लागि आवश्यक मतपत्र लगायतका सामाग्री जिल्ला आइपुगेको जनाएको छ । ४४ हजार मतपत्र हिजो जिल्ला आइपुगेको हो ।