Logo

मेघनाथ पहाडी

पुस १०, २०७९ आईतबार

कुन दलको भागमा पर्ला बागमतीको मुख्यमन्त्री ?


काठमाडौँ । केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले-माओवादी नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरूको समीकरण फेरिएको छ। संघमा नेकपा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धन भएसँगै बागमतीमा पनि दलहरूको समीकरण परिवर्तन भएको हो।

सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुट्दा माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई बागमतीसहित सातवटै प्रदेशमा समेत सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको छ।

गठबन्धनबाट कांग्रेस बाहिरिएसँगै ११० सदस्यीय बागमती प्रदेशमा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ। यो प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ।

यहाँ एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ सांसद छन्। यी ३ दलको मत जोड्दा बागमती प्रदेशमा नयाँ गठबन्धनसँग ६१ मत पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त छ। गठबन्धन नै परिवर्तन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा ‘आउट’ भएका छन् भने एमालेको जेएन थपलिया ‘इन’ भएका छन्।

बागमती प्रदेशसभाको दोस्रो ठूलो दल नेकपा एमालेले हालसम्म संसदीय दलको नेता चयन गरेको छैन। संसदीय दलको नेता मुख्यमन्त्री बन्ने हुँदा एमाले बागमती प्रदेशमा अब बन्ने दलको नेता मुख्यमन्त्री बन्ने छन्।

केही बेरअघिसम्म प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउने मनस्थितिमा रहेको एमालेमा दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने तयारी थियो। एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य जेएन थपलिया संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन हुने सम्भावना थियो तर अब एमाले सरकारमा सहभागी हुने भएपछि एमाले बागमती प्रदेशको दलको नेता बन्ने आकांक्षी पनि बढेको एमाले सांसदहरू बताउँछन्।

प्रदेशसभाको तेस्रो दल रहेको नेकपा माओवादी केन्द्रमा भने दुईजना आकांक्षी छन्। माओवादी केन्द्रमा पनि संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न दुईजना दाबेदार देखिएका छन्। माओवादीको बागमती प्रदेश संसदीय दलको नेता हुन सरल सहयात्री पौडेल र शालिकराम जमकट्टेल बीच प्रतिस्पर्धा हुने देखिएको छ।

एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनावसमेत हुन सक्ने सांसदहरूले बताएका छन्। यसअघि दलको नेता जमकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरेका छन्। पौडेल माओवादीको बागमती प्रदेश अध्यक्षसमेत रहेकाले उनी आफू दलको नेता बन्दै मुख्यमन्त्री बन्नुपर्ने बताउँछन्।