Logo

मेघनाथ पहाडी

माघ ५, २०७९ बिहीबार

को हुन्, ‘सभामुख देवराज घिमिरे’ यस्तो छ राजनीतिक यात्रा


काठमाडौं । झापा क्षेत्र नं २ बाट पहिलोपटकमै चुनाव जितेका देवराज घिमिरे धेरैलाई सरप्राइज दिँदै सभामुख बन्न सफल भएका छन् ।

बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख निर्वाचित भए । घिमिरेले १६७ मत पाउँदा न्यौपानेले १०० मत ल्याइन् ।

निर्वाचित भएपछि उनले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘विगतबाट शिक्षा लिएर अघि बढ्ने स्वतन्त्र र निष्पक्ष ढंगबाट अघि बढ्छु । म दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिन्छु ।’

कतिपयले सभामुख घिमिरेलाई नयाँ अनुहारको रुपमा चित्रण गरे पनि एमालेको राजनीति बुझ्नेहरूका लागि उनी नयाँ होइनन् । प्रतिनिधिसभामा घिमिरेको इन्ट्री भने पहिलोपटक हो । किनकि उनले २०४८ सालमै प्रतिनिधिसभाको टिकट अर्को व्यक्तिका लागि त्यागेको इतिहास धेरैलाई थाहा छैन ।

को हुन् सभामुख घिमिरे ?
सभामुख घिमिरे झापा अर्जुनधारा नगरपालिका– ६ का बासिन्दा हुन् । उनको जन्म २०१३ साल जेठ १३ गत ताप्लेजुङको सिरिजंघा गाउँपालिका( ३ सिकैचामा भएको थियो । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षा सुरु गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट विसं २०२९ सालमा एसएलसी उत्तीर्ण गरे । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए गरेका उनले त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा
विसं २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को(अर्डिनेशन कमिटी ९कोके० गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका हुन् ।

२०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ(गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे ।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीहरु सम्हालेका छन् । २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख भएका घिमिरे २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बने ।

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज, २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जसमेत बनेका थिए । भूमिगत राजनीतिकालमा पञ्चायती शासकले उनको राजनीतिक गतिविधि नियन्त्रण गर्न घिमिरेविरुद्ध पटक-पटक पक्राउ पुर्जी जारी गरेको थियो ।

त्याग र सफलता
भूमिगतकालमा २०३५ देखि २०४६ सालसम्म संगठन र नेतृत्व गरेका जिल्लाहरु तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठनसहितको किल्लाको रुपमा स्थापित भएका छन् ।

२०४८ सालमा भएको आम निर्वाचनमा इलाम जिल्लामा आफूले पाएको टिकट अर्का नेतालाई प्रदान गरेर पार्टीको जीत निश्चित गर्न गरेको त्यागको परिणाम आजसम्म पार्टी लगातार विजयी भएको छ ।

२०४८ सालको निर्वाचनमा इलाममा २ क्षेत्र कायम हुँदा महासचिव मदन भण्डारीले क्षेत्र नम्बर १ मा झलनाथ खनाल र २ मा देवराज घिमिरेलाई उम्मेदवार बनाउन चाहे । तर, घिमिरेले जातीय सन्तुलनसमेत मिलाउनुपर्ने भन्दै आफ्नो साटो मणि सुब्बालाई उम्मेदवार बनाउन सुझाए ।

तत्कालीन अवस्थामा लिजेण्ड जस्तै मानिने नेता झलनाथले मणि सुब्बासँग जोडी नै नमिल्ने भन्दै देवराजलाई नै उम्मेदवार बनाउन चाहे । तर, देवराजले यसअघि पञ्चायतकालमा पनि पार्टीले नोबेलकिशोर राईलाई जनपक्षीय बनाएर जिताएको दृष्टान्त छ ।

२०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको वेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइभन्दा बढी स्थानीय तहमा पार्टी जिताउन घिमिरे सफल भए ।

प्रदेश १ इन्चार्ज भएका वेला २०७९ सालमा सम्पन्न स्थानीय चुनावमा प्रदेश नं १ मा पाँचदलीय गठवन्धनको घेरा तोड्दै कुल ५ हजार ८६४ मध्ये सबैभन्दा धेरै २ हजार ६८५ जनप्रतिनिधि नेकपा एमालेबाट विजयी गराउन उनी सफल भए ।

२०७९ साल मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनाउन पनि घिमिरे सफल भए । २०७९ सालको चुनावमा हालसम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्वु जिल्लामा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेलाई उनैले विजयी गराए ।

पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बन्दा पाँचदलीय गठबन्धन स्वतन्त्रलगायत सबैको घेरा तोडेर प्रतिनिधिसभा तथा प्रदेश भाका दुवै स्थानमा सानदार जीत निकालेका छन् । मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुख भएर फाउन्डेसनको विस्तार र विकासमा समेत उनको योगदान छ ।

अधिकांश पदाधिकारीभन्दा सिनियर
संसदीय राजनीतिमा घिमिरे एमालेभित्रै नयाँ भए पनि पार्टीभित्रको वरियतामा भने अहिलेका अधिकांश पदाधिकरीभन्दा सिनियर हुन् । घिमिरेका अनुसार पार्टीभित्र ९केन्द्रीय नेतृत्वमा० उनीभन्दा सिनियर ५ जनामात्र नेता छन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेमात्र उनीभन्दा सिनियर हुन् । यस हिसाबले घिमिरे एमाले केन्द्रीय कमिटीमा रहेकामध्ये छैटौं वरियतामा पर्छन् ।

७० वर्षे उमेर हदका कारण अमृत बोहरा र केशव बडाल कार्यकारी भूमिकामा छैनन् । यद्यपि अनुशासन आयोग र सल्लाहकार परिषद् अध्यक्षका हिसाबले ती नेताहरू पार्टी भूमिकामा छन् । उनीहरूमध्ये बोहरा नेकपा मालेका संस्थापक नै हुन् भने बडाल कम्युनिष्ट आन्दोलनमा सिनियर हुन् ।

तत्कालीन झापा क्रान्ति हुँदै नेकपा मालेका संस्थापकमा पर्छन् ओली र पोखरेल । त्यसबाहेक विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे २०४५ मा भएको नेकपा मालेको चौथो महाधिवेशनबाटै केन्द्रीय कमिटीमा पुगेका नेता हुन् । जुन महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।

२०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट देवराज घिमिरे वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसैले पाँचजना नेतामात्र उनीभन्दा पहिलेका हुन् । सोही महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, किरण गुरुङ पनि केन्द्रीय कमिटीमा आएका थिए ।

२०४८ सालमा चुनाव लड्न नमानेका कारण देवराज संसदीय भूमिकामा पछि परेका हुन् । २०५६ सालमा उनी राष्ट्रियसभा सदस्य भएका थिए । पार्टीभित्र माधव नेपालको एकल दबदबा चलेका वेला उनी ओली निकट भएका कारण भूमिकाविहीन बनाइँदै गएका थिए । २०५८ सालसम्म उनी तत्कालीन मेची अञ्चल इन्चार्जको भूमिकामा थिए ।

त्यसवेला एमालेमा अञ्चल इन्चार्ज प्रभावशाली पद थियो । माधव नेपालले उनलाई मेची अञ्चल इन्चार्जबाट हटाएर काठमाडौं ल्याएपछि घिमिरे भूमिकाविहीन हुन थालेका थिए । पछिल्लो समय पार्टीमा चरम पेलानमा परेका घिमिरेलाई ओलीले आफू पार्टी सत्तामा आएसँगै सक्रिय बनाए ।

ओलीले आफू प्रमुख रहेको स्कूल विभागको उपप्रमुख हुँदै आफ्नो सचिवालयमा समेत राखेर घिमिरेलाई काम लगाएका थिए । पछिल्लो समय उनलाई पुनः पूर्वी भूगोलको काममा खटाएर प्रदेश १ को इन्चार्ज बनाइएको थियो ।

२०३५ सालदेखि पूर्णकालीन रूपमा भूमिगत भएर राजनीतिमा लागेका घिमिरेले सांसदको टिकट भने राजनीतिमा होमिएको ४४ वर्षपछि मात्र पाएको भए पनि पहिलो पारीमै उत्कृष्ट सफलता हात पारेका छन् ।