Logo

मेघनाथ पहाडी

फाल्गुन १८, २०७९ बिहीबार

फोहोर व्यवस्थापन गर्न कौसी खेतीको योजना बनाएका छौँ: वडाध्यक्ष महर्जन


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं -४ ले फोहोर व्यवस्थापन गर्न कौसी खेती गर्ने योजना अघि बढाएको छ । यस वडाले घर–घर बाट निस्कने फोहोरको न्यूनीकरण गर्न र कुहिने फोहोरको व्यवस्थापन गर्न कौसी खेतीलाई उपयुक्त माध्यम बनाएको हो । 

हरियाली भनेर चिनिने यस वडामा कौसी खेतीलाई प्रवर्द्धन गरी अर्गानिक तरकारी तथा फलफूलको उत्पादन गर्ने र सुन्दर सफा हरियाली वडा बनाउने योजना रहेको वडाध्यक्ष दिनेश महर्जनले बताए । 

अध्यक्ष महर्जनका अनुसार, स्वास्थ्य पनि मध्यनजर गरी विषादित रहित तरकारी तथा फलफूल घरमै उत्पादन हुनका साथै गृहिणीहरुका लागि खाली समयको सदुपयोग समेत हुनेछ । जसका लागि फोहोर कुहाउने र मल बनाउने डस्विनको व्यवस्था भइरहेको छ । 

उनले भने, “कौसी खेती कसरी गर्ने भन्ने विषयमा विज्ञहरूसँग परामर्श गरिरहेका छौँ । आवश्यक तरकारी घरमै उत्पादन हुँदा थोरै भए पनि आर्थिक बचत हुनुका साथै दुर्गन्ध हुनबाट पनि बचिन्छ त्यस कारण कौसी खेती उपयुक्त लागेको छ ।” 

कौसी खेतीका साथै यस वडामा पछिल्लो समय बढ्दै गएको आत्महत्या, लागूपदार्थ दुर्व्यसन लगायतका गतिविधि कम गर्न प्रहरीसँग समन्वय गरी विद्यालय स्तरबाटै मनोविज्ञान कक्षाको सञ्चलन पनि हुन लागेको अध्यक्ष महर्जनले जानकारी दिएका दिए ।