Logo

बागमती पेज

फाल्गुन १९, २०७९ शुक्रबार

सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिवसहितको टोलीसँग भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेस गर्न प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्वसचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ । सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो ।

“सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन”, रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री दाहालले भन्नुभयो, “तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन ।” उहाँले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताउनुभयो । कार्यदलका सदस्यसचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो ।