Logo

मेघनाथ पहाडी

फाल्गुन २९, २०७९ सोमबार

उजुरी तामेलिमा राख्नुको कारण खोज्दै अख्तियारमा निवेदन


काठमाडौँ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचना तथा विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन निवेदन दिनुभएको छ । उहाँले आईतवार विहान ११ः३० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिनुभएको हो ।

मोर्चाका संयोजक सफलले आयोगमा आ.व २०७५ श्रावण १ गतेदेखि ०७८ अषार मसान्त सम्म तामेलिमा राखिएका उजुरी, सो उजुरीका उजुरी कर्ता, उजुरीका विषयवस्तु र उजुरी तामेलिमा राख्नुको कारण सहित विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन निवेदन दिएको जानकारी दिनुभयो । आयोगले गरेको निर्णयको प्रमाणित प्रतिलिपी समेत आवश्यक परेकाले संविधानको धारा २७ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार विवरण उपलब्ध गराईदिन निवेदन पेश गरेको उहाँले जनाउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र तामेली गरिएका उजुरीको वैधानिकता परिक्षण गर्न समेत सकिने हुँदा सो प्रयोजनका लागि उक्त सूचना आवश्यक भएकाले निवेदन दिएको उहाँको भनाई छ ।

संयोजक युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारका मुद्धा तथा ठुलो पदमा भएका व्यक्तिहरुको मुद्धालाई समयमै टुङ्ग्याउन अनुरोध गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय आयोग कहि कतै नचुकी कसैको प्रलोभनमा नपरी निष्पक्ष ढंगले समयमै काम गर्नुपर्ने उहाँको भनाई छ ।