Logo

बागमती पेज

चैत्र २२, २०७९ बुधबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ ।

मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । ट्रम्पलाई अदालतमा उनका वकिलले घेरा हालेका थिए। उनीविरुद्ध आरोप लगाउने कानून व्यवसायीले मुद्दाको रूपरेखा प्रस्तुत गर्दै सन् २०१६ को चुनावलाई प्रभावित पार्न गोप्य र अवैध भुक्तान गरेको आरोप लगाए ।

म्यानहटनस्थित अदालतको १५ औँ तलामा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । मंगलबार दिउँसो २:१५ देखि अदालती सुनुवाइ भएकोमा साढे १ बजे ट्रम्प अदालत पुगेका थिए ।

अदालती सुनुवाइअघि सोमबार नै न्यूयोर्कस्थित ट्रम्प टावरमा पुगेका थिए। उनले सो रात त्यहीँ बिताए ।

अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो। पक्राउपछि उनलाई हतकडी भने लगाइएको थिएन ।

सुनुवाइका क्रममा ट्रम्पले ३ पटक मात्रै बोलेका थिए। दुईपटक उनले आरोप अस्वीकार गरे भने तेस्रोपटक प्रतिवादीका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरे ।

अमेरिकी इतिहासमै पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा चलेको यो पहिलोपटक हो । उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नुपर्नेछ।