Logo

भवानी कार्की

बैशाख १३, २०८० बुधबार

उपत्यकामा छैन अपाङ्गमैत्री संरचना, कागजमा मात्रै सीमित


काठमाडौँ । उपत्यकामा अपाङ्गता मैत्री (फरक क्षमता) संरचना तथा अन्य सेवा सुविधा नहुँदा अपाङ्गता भएका व्यक्तिका लागि दिनानुदिन चुनौती थपिँदै गएको छ । अपाङ्गता भए व्यक्तिका लागि सुविधायुक्त भौतिक संरचना नहुँदा सेवा लिन समस्या भएको हो । 

दैनिक कामकाजीको लागि घर बाहिरा निस्कनै पर्ने अवस्था रहे पनि सडक देखी लिएर सरकारी संस्था देखी शैक्षिक संस्थासम्म पुग्दा अनेकन् समस्या खेप्नुपर्ने बाध्यता रहेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ ।

सरकारी भवन, शैक्षिक संस्था, सार्वजनिक स्थल, होटेल तथा रेस्टुरेन्ट, एटिएम तथा बैककीङ सेवा लगायतका स्थानमा सेवा लिन विभिन्न कठिनाइ भोग्नुपरेको गुनासो छ । फरक क्षमता भएकाहरुलाई पनि आत्मसम्मानपूर्वक जीवनयापन चलाउन पाउने अधिकार रहे पनि उनीहरूलाई मध्यनजर गरी सेवा सुविधा उपलब्ध गराउने वातावरण नहुँदा दैनिक जीवनयापनमा समस्या भोग्नुपरेको गुनासो छ । 

सडक दुर्घटनामा दुवै खुट्टा नचल्ने भएका नवराज कार्की ह्वीलचेयरको सहायताले हिँडडुल गर्छन् । आफ्नै हातको सहायताले ह्वीलचेयर गुडाउँदै दैनिक हिँडडुल गर्दे आएका कार्की अहिलेसम्म कुनै पनि भौतिक संरचना ह्वीलेचयरमैत्री नबनेका कारण आफूले धेरै समस्या भोग्नुपरेको बताउँछन् ।   

उनी भन्छन्, विद्यालय, यातायात सँगै सार्वजनिक शौचालय प्रयोग गर्न समेत हामीलाई कठिन छ । वित्तीय बैक तथा वित्तियसंस्था घरको माथिल्लो तलामा हुने भएका कारण हामीलाई त्यहाँसम्म पुग्न अरूको सहायता लिनुपरेको छ । आवश्यक परेको खण्डमा एटिएम सम्म प्रयोग गर्न नसक्दा दुख लाग्छ । 

बैकमा जाँदाको तितो अनुभव सुनाउँदै कार्की थप्छन्, मेरो काम मैले अरू कसैलाई गर्न लगाउनु परेको छ । मेरो एउटा फारम भर्दिनुस् भन्दै हार गुहार गर्दे घन्टौँ सडकमा बस्नुपर्ने बाध्यता छ । 

ह्वीलेचयरबाटै जीवनयापन चलाई राख्नुभएकी सानु श्रेष्ठको पनि त्यस्तै किस्सा छ । सरकारी कार्यालयमा परिचय पत्र बनाउन जाँदा ह्वीचेयरमैत्री नहुँदा साथीले बोकेर लाने गरेको उनले बताइन । 

उनको अनुभवमा, बजारमा कुनै सामान लिन होस वा कपडा किन्न होस् रोडमा बसेर बोलाउँदै सामान खरिद गर्नुपरेको छ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई पनि सहज वातावरण हुने गरी भौतिक संरचना तथा बाटोघाटोको निर्माण गरिदिए दैनिक कामकाजीमा सहज हुने उहाँको भनाई छ । 

नेपालमा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी राष्ट्रसङ्घीय महासन्धि २००६ लगायत सबै अन्तर्राष्ट्रिय मञ्चहरूमा भौतिक संरचना अपाङ्गता मैत्री बनाउने नेपालको लिखित रूपमा प्रतिबद्धता रहेको छ । भौतिक संरचनाहरूको निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सबै सेवा सुविधामा उहाँहरूको पहुँच स्थापित गर्न भौतिक तथा सूचना सञ्चारमा समेत अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था छ ।

जसअनुसार सडक देखी सरकारी कार्यालय तथा सार्वजनिक स्थलसम्म अपाङ्गमैत्री हुनुपर्दछ । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित सञ्चालनमा रहेको बाल अपाङ्ग टेवा संस्थाका सञ्चालक डेन्डी सेर्पा, ह्वीलचेयरमैत्री संरचना नबन्दा धेरै दुर्घटना हुने बनाउँछन् ।

आफ्नै संस्थामा रहँदै आएका २२ जना अपाङ्ताहरुलाई दैनिक जीवनयापनमा असहज भएको महसुस गरिरहेको उनको भनाई छ । उनका अनुसार , फरक क्षमता भएका बालबालिका देखी वृद्ध उमेर समूह सम्मकालाई ह्वीलचेयरको व्यवस्था सरकारले गर्नुपर्ने र ह्वीलचेयरमैत्री संरचना निर्माण गर्नुपर्ने आवश्यक छ । 

सरकारी तवरबाट भौतिक पूर्वाधार निर्माण गर्नका लागि बनाइने अधिकांश नक्सामा अपाङ्गतामैत्री बन्न नसकेकोप्रति उहाँहरूको आपत्ति छ । संविधानमा उल्लेख गरिएको कानुन सरकारी कार्यलयलेनै कार्यान्वयन नगरेको प्रति गुनासो छ ।