Logo

बागमती पेज

भाद्र ८, २०८० शुक्रबार

तामाकोशी र मेलुङ गाउँपालिकाले बैंकको सहकार्यमा कृषकलाई सहुलियत कर्जा दिने


काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाले आफ्नो पालिका भित्रका उद्यमी कृषकहरूलाई सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने भएका छन् । दुई गाउँपालिकाले हिमालयन बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा उद्यमी कृषकहरुलाई सहुलियत कर्जा प्रवाह गर्न लागेका हुन् ।

सहुलियतपूर्ण कर्जाका लागि चरिकोटमा तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर समेत तीन वटै बैंकका प्रमुख तथा प्रतिनिधि बीच हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा तामाकोशी र मेलुङ गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित बेरोजगार महिला तथा युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन,महिला उद्यमशील क्षमताको –विकास गर्न,दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवर्धन गरी उद्यमशिलता विकास गर्न उल्लेख छ ।

तामाकोसी गाउँपालिका,मेलुङ गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित कृषि तथा पशु व्यबसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत असल शासन समन्वय समिति दोलखा र सामुदायिक विकास मञ्च नेपाल दोलखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।