Logo

बागमती पेज

भाद्र ११, २०८० सोमबार

बौद्ध क्षेत्रमा गाइजात्रा तथा रोपाइँजात्रा विशेष रुपमा मनाइने


काठमाडौँ । विगतका वर्षहरुझै यसवर्ष पनि काठमाडौँको बौद्ध क्षेत्रमा गाइजात्रा तथा रोपाइँजात्रा (घोनाई) मनाइने भएको छ।

परम्परागत रूपमा काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रा पर्वको आफ्नै इतिहास रहि आएकोमा गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपांइजात्रा तिनै सांस्कृतिक जात्रा एवं पर्वहरु मध्ये छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा गाइजात्रा तथा रोपाइँजात्रा मनाउन लागेको बौद्ध तामाङ गुठीमा आयोजित पत्रकार सम्मेलन मार्फत जनाइएको छ । आगामी भदौ १५ गते गाइजात्राको भोलिपल्ट मृतक आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाउन लागिएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष भुवन लामाले उक्त जात्राको लागि महानगरको सम्पदा शाखा मार्फत १५ लाख दिने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त जात्राको लागि बौद्धनाथ क्षेत्र विकास समितिले पनि १० लाख आर्थिक सहयोग दिने अध्यक्ष राजकुमार लामाले जनाए । उनले विगतमा ५ लाख रुपैया दिँदै आएको समितिले यस वर्ष ५ लाख थप गरि १० लाख रुपैयाँ प्रदान गर्ने जानकारी गराए ।

विगतमा बौद्धका स्थानीयबासीहरु कृषि पेशामा आश्रित थिए, जब खेतबारीमा बाली लगाइ सकेपछि हुने फुर्सदको समयमा मनोरञ्जनात्मक रुपमा व्यतीत गर्न चाहन्थे । त्यसैक्रममा रोपाइँजात्रा पर्वको परापूर्वकालदेखि नै शुभारम्भ भएको मानिन्छ । एकीन रुपमा कहिलेदेखि यो पर्व सुभारम्भ भन्ने विषयमा तथ्य फेला नपरेता पनि आजसम्म यस पर्वलाई बौद्धको मौलिक जात्राको रुपमा मनाइँदै आएको पाइन्छ । गाईजात्रा भोलिपल्ट बौद्धका तामाङ समुदायले रोपाइँ जात्रा मनाउने गर्दछन्।

कार्यक्रम सम्पन्न गर्न गाईजात्रा मूल समारोह समितिको संयोजनमा २१ सदस्यीय गाईजात्रा तथा रोपाइजात्रा (घोनाई) मुल समारोह समिति गठन गरिएको छ । उक्त जात्रामा १० विविध विधाहरूमा इच्छुक जो कोही प्रतिस्पर्धीको रुपमा सहभागी गराउने तथा प्रतिस्पर्धी मध्येबाट विधागत उत्कृष्ट कलाकारहरुलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार नगद प्रदान गरिने छ ।

प्रतिस्पर्धा विधाहरु जस्तै लाखे, बाउसे, रोपाहार, झाकी, हास्य-व्यंग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपार र बाल बाउसे आदि रहनेछन् । विगतका वर्षहरुमा भन्दा यस पटकको यो जात्रा फरक एवं उत्कृष्ट हुने आयोजकले दावी गरेको छ ।