Logo

बागमती पेज

भाद्र ३०, २०८० शनिबार

हर्क साम्पाङले किन मागे धरानका डीएसपीको सरुवा ?


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय, धरानका डीएसपी नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयमा पत्राचार गरेका छन् ।

मल्लले ‘स्थानीय सरकारले भनेको नमान्ने’ गरेको भन्दै मेयर साम्पाङ आफैंले हस्ताक्षर गरेर गृह मन्त्रालयमा पत्र पठाएका हुन्, जसको बोधार्थ प्रहरी प्रधान कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी सुनसरीलाई पनि दिएका छन् ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले मेयर राईले डीएसपीको सरुवा मागेको पुष्टि गरेका छन् । उनले भने, ‘पत्र कर्मचारी प्रशासनमार्फत लेखिएको होइन, उहाँ आफैंले लेखेर पठाउनु भएको हो ।’

सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्रमा मल्लले पत्र नपठाई केही गर्न नमानेको समेत साम्पाङले जिकिर गरेका छन् ।

‘ढुंगा गिटी तस्करलाई पक्राउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा खासै काम नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने, सार्वजनक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने ढिलो आएर पर बसी मुकदर्शन बन्ने…’, मेयर राईले भनेका छन्, ‘नगर प्रहरी प्रमुख स्वयम्लाई गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई पक्राउ गरी छानबिन नगर्ने, नगर प्रहरी स्वयम्ले दिएको उजुरी दर्ता नगर्ने लगायत मेरो घरमा आक्रमण गर्दैछ है भनेर उपमेयरले जानकारी समेत गराउँदा प्रहरी नपठाउने, स्थानीय सरकारको आदेश पालना नगर्ने र शान्ति सुरक्षामा विलकुल चासो नदिने गरेकाले तुरुन्त सरुवा गरी अर्को डीएसपी पठाइदिनु हुन अनुरोध छ ।’

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी विपिन रेग्मी भने मेयर साम्पाङले लगाएको आरोप अस्वीकार गर्छन् ।‘उहाँले लेख्नु भएको पत्रबारे त मलाई जानकारी छैन, तर धरानमा कुनै पनि समस्या हुँदा प्रहरी समयमा पुगेको छ उनले भने, ‘उपमेयर सा’बको घरमा घटना हुँदा पनि तत्कालै म आफैं पुगेको थिए । डीएसपी मल्लले धरानमा राम्रो काम गरिरहेको समेत उनले दाबी गरे ।

मेयर हर्कराज साङपाङले उपमेयरको घरमा तोडफोड भएको घटनामा जानकारी गराउँदा पनि प्रहरी नपुगेको बताएका छन् ।

धरानका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा मंगलबार साँझ झडप भएको थियो । उनका भाइ विष्णु बेघासँग भएको विवादको विषयलाई लिएर विभिन्न तोडफोड गरेका थिए । ‘सबै आपराधिक पृष्ठभूमिमा संलग्नहरु हुन्, तर मेरोमा आएर झगडा गर्नु हुन्थेन’, बेघाले अनलाइनखबरसँग भने, ‘सबैलाई कानूनी दायरामा ल्याउनुपर्छ भनेको छु । तर डीएसपी सरुवाबारे पत्रको विषयमा मलाई जानकारी छैन ।’

डीएसपीसँग किन रिसाए मेयर ?

मेयर साङपाङले मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै धरानका डीएसपी मल्लको आलोचना गरेका थिए । उनले ‘अलि कडा डीएसपी चाहियो धरानमा’ भन्दै मल्लको सुरक्षा नेतृत्व ठिक नलागेको बताएका थिए । उनले भनेका थिए, ‘हर्क साम्पाङ जस्तो कडक प्रमुख भएको नगरमा दबङ डीएसपी पठाइदिनु, गृहमन्त्रीज्यू ! अब पर्सी पत्र पठाउनु परो !’

उनले अर्को स्ट्याटस पनि लेखेका थिए, जसमा गृहमन्त्रीलाई सम्बोधन गर्दै ‘हर्क साम्पाङ जस्तो देशभक्त कडक प्रमुख भएको नगरमा दबङ डीएसपी पठाइदिनु नत्र हामी आफैं आफ्नो सुरक्षा गर्न उचित तयारी गर्नेछौं’ भनिएको थियो ।

हाल उनले गृह मन्त्रालयलाई लेखेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

धरानका डीएसपी मल्लले आफ्नो विषयमा आलोचना गर्दै पत्र गएको भन्दै कुनै टिप्पणी नगर्ने बताए । उनले भने, ‘मेरो बारेमा धरानका अरु स्थानीय वा जिल्ला प्रहरी कार्यालयमा सोध्नु होला ।’

तर, धरानका अर्का एक अधिकृतले भने मेयर राईले भने अनुसारको काम नगर्दा सरुवाको धम्की दिएको दाबी गरे । ‘कानून अनुसार आउने कुरा गर्न प्रहरीलाई समस्या होइन, तर उहाँले नेपाल प्रहरीलाई नगर प्रहरी जसरी चलाउन खोज्नुभयो’, ती अधिकृतले भने, ‘उहाँले जसलाई समात्न भन्नुभयो, समात्ने ! जसलाई छाड् भन्नुभयो, छाड्ने त गर्न सकिन्न नि ! प्रहरीले त आधार प्रमाण हेर्ने होला, उहाँलाई त्यो स्वीकार्य भएन ।’

प्रहरी अधिकृतहरुका अनुसार, नगर प्रहरीले मेयर साम्पाङलाई प्रश्न गरेकै कारण स्थानीय अशोक लिम्बुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुझाएको थियो । ‘त्यसमा उहाँलाई राख्न सक्ने अवस्था नै थिएन, नगर प्रहरीले ल्याएपछि एक दिन राखेर गएको शनिबार छाडिदियौं’, ती अधिकृत भन्छन्, ‘तर मेयर सा’बको त्यसमा आपत्ति रह्यो ।’

आफ्नो आलोचना गर्ने अरु केहीलाई समेत उनले नियन्त्रणमा लिन भनेको अधिकृतहरु बताउँछन् । आफ्नो काममा अवरोध गरेकाले पक्राउ गर्न समेत उनले सिफारिस गर्ने गरेका छन् । ‘हामीले कानून हेर्ने हो, उहाँले कानूनबाहिर गएर पटक-पटक निर्देशन दिने गर्नु हुन्थ्यो, जुन प्रहरीले गर्नसक्ने कुरा भएन’, ती अधिकृतले सुनाए, ‘त्यही कारण मेयर सा’ब रिसाउनु भएको हो, अरु कुनै असमझदारी होइन ।’