बालबालिकाहरु प्राय: रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् ।
सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो ठाउँबाट हामफाल्ने जस्ता क्रियाकलाप गर्न पुग्छन् । जसलाई मेडिकल भाषामा यसलाई ट्यान्ट्रोम पनि भनिन्छ । तर यो सामान्य नै हो ।
बालबालिकाले यसरी नै आफ्नो कुरा राख्न र व्यवहार गर्न सिकेका हुन्छन् । तर उमेर बढ्दै जाँदा पनि यस्तै व्यवहार जस्तै झनक्क रिसाउने, चित्त नबुझे जसलाई पिटिहाल्ने छ भने यसलाई अस्वस्थ व्यवहार भनिन्छ । यी लक्षण सामान्य नभई मानसिक रोगको कारणले पनि हुन सक्छ ।
उमेर बढ्दै जाँदा पनि किन रिसाइरहन्छन् बालबालिका ?
बालबालिका धेरै कारणले रिसाउने गर्छन् । त्यसमा मानसिक स्वास्थ्य पनि एक कारण हो । एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) कारणले पनि बालबालिका रिसाउने गर्छन् । यसका लक्षणहरूमा ध्यानकेन्द्रित गर्न नसक्ने, आवगेमा आउने, छिट्टै निर्णय लिने, कुरा दोहोर्याइरहने हुन्छ ।
सेपेरेसन एन्जाइटीका कारण पनि बालबालिका रिसाउँछन् । जस्तै, स्कुलबाट घर फर्किने बेलामा रिसाउने, झर्किने, चिट्चिट हुने यसको लक्षण हो । आफ्ना आमाबुबासँग बिहान छुटेका उनीहरु स्कुल छुट्टी भएपछि भेट्न पाउने भएकाले उत्साहित हुन्छन् । त्यो उत्साह व्यक्त गर्न नजानेर उनीहरु रिसाउने, झर्किने गर्छन् ।
पारिवारिक कलह, झैझगडा, आफ्नो इच्छा पूरा नहुँदा र स्कुलमा भएको बुलिङका कारण पनि उनीहरु आफ्नो भावना प्रष्टसँग बुझाउन नसक्दा रिसाउँछन् ।
बालबालिकालाई फकाउने तरिका के त ?
प्राय: बालबालिकामा स-साना कुरामा पनि रिसाउने, मन दुखाउने बानी हुन्छ । यस्तो बेलामा उनीहरुलाई गाली गर्ने, कुट्ने र हपार्ने गर्नुहुँदैन । यसले उनीहरूमा मानसिक रुपमा नराम्रो असर पार्न सक्छ । बरु धेरै रिसाउँछन् भने उनीहरूको भावना बुझ्ने प्रयास गर्नुपर्छ ।
प्यारेन्ट म्यानेजमेन्ट टेक्निक (पीएमटी) लागू गरेर बालबालिकालाई फकाउन सकिन्छ ।
सुरुमा उनीहरुलाई भावना प्रस्तुत गर्ने तरिका सिकाउने गर्नुपर्छ । रिस उठ्दा के कुरामा रिस उठेको हो लेखेर भन, रिस उठ्दा रातो कार्ड देखाउने, दुवै हात बाँधेर बस्ने नियम तयार पार्न सकिन्छ ।
कुनै चीज मन पर्दैन भने रिस नदेखाइकन, लामो श्वास फेर्ने, आँखा चिम्म गर्ने, गीत गाउने गराउन सकिन्छ । जसले उनीहरुको रिस कम हुन मद्दत गर्छ ।
उनीहरुलाई फकाउने भाषामा परिवर्तन ल्याउन सकिन्छ । जस्तै, रिसाएको छ भने किन रिसाएको, होमवर्क गर्यो कि गरेन ?, स्कुल जाने बेला भएन ? यसरी सोध्दा उनीहरु झन् रिसाउन सक्छन् । यसको साटो फरक किसिमको भाषाशैली प्रयोग गर्ने जस्तै बालबालिकालाई ‘आज म रिसाउँछु तिमी मलाई फकाउन ल’ भन्न सकिन्छ । यसले रिसाउँदा यसरी फकाउने रहेछ भनेर सिक्छ । रिस पनि कम हुन्छ ।
त्यस्तै घरभित्र वा घरबाहिर खेल्न, घुमाउन लैजान सकिन्छ । जस्तै, बालुवामा खेल्न लगाउने, फुटबल खेल्ने, दौडाउने इत्यादि गराउन सकिन्छ । जसले उनीहरुको रिसाउने इनर्जी ‘रिलिज’ गर्न मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस्