Logo

मेघनाथ पहाडी

कार्तिक २३, २०८० बिहीबार

जलन उपचारका लागि एक करोड ५३ लाखको मेडिकल उपकरण हस्तान्तरण


काठमाडौँ । सुष्मा कोईराला मेमोरियल अस्पतालमा जलन उपचारका लागि आवश्यक उपकरण रोटरी क्लब लियोन नर्ड फ्रान्सले हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ शाखु काठमाडौँको विषेश पहलमा अस्पताललाई आवश्यक सामाग्री प्रदान गर्नुका साथै डाक्टरहरुलाई आवश्यक तालिम समेत नर्ड फ्रान्सले दिने भएको हो ।

आगलागी पीडितकोे उपचारका लागि मनिटर, सिआइसियु, ओटी, परफ्युसर, इलेक्ट्रीक बेड, अप्रेसन थिएटर लाईट, बिआईपिएपी मेशिन लगायतका सामाग्री सहयोग गरेको जेनेरल सर्जन उपनिर्देशक डा. रोजिना शिल्पकारले जानकारी दिनुभयो । उहाँले उपकरणहरु रु एक करोड ५३ लाख रकमका रहेको जनाउनुभयो । जलन उपचारका लागि अस्पतालमा अतिआवश्यकिय उपकरणले आगामी उपचारमा सहज र थप सुधार हुने उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद विन्दावासिनी कंसाकारले जलन उपचारका लागि सहयोग गरिएका उपकरण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले १० वर्ष अघिको स्मरण गर्दै आफूले नै त्यस किसिमको समस्या भोग्नु परेको भन्दै नेपालमा उपचार नहुने भएर भारत गएर उपचार गरेको अनुभव सुनाउनुभयो ।

सांसद कंसाकारले पीछडियको स्वास्थ्य क्षेत्रमा चासोका साथ काम गरेर जलन भोग्नेको मल्हम लगाएको बताउनुभयो । राज्यको तर्फबाट जलन उपचार कोषको स्थापना गर्न सदनमा कुरा उठाउने प्रतिबद्धता जनाउनुभयो ।

रोटरी क्लब लियोन नर्डको संस्थापक अध्यक्ष जीन पल गौरिलाले करिब ३ वर्षदेखि हामी साँखु क्लब र इन्टरप्लास्ट एसोसिएसनसँग मिलेर यो परियोजना स्थापना गर्न सफल भएको  बतउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य अस्पतालको चिकित्सा स्रोतहरू बलियो बनाउनु थियो । जलेका पीडितहरूको उपचार गुणस्तरिय ढंगले हुनुपर्छ भन्ने लक्ष्य राखिएको थियो । यो समस्या, हामी सबैलाई थाहा छ, नेपालको लागि एक प्रमुख जनस्वास्थ्य समस्या हो । त्यसैले हामीले यसमा सहयोग गरेका हौं ।”

रोटरी क्लब अफ शाखुका पूर्व अध्यक्ष लकस श्रेष्ठले क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, महिला शसक्तिकरण, वातावरण क्षेत्रमा विगतदेखि धेरै काम गर्दै आएको बताउनुभयो । उहाँले सुष्मा कोईराला मेमोरियल अस्पतालमा रोटरी क्लब अफ शाखु र रोटरी क्लब लियोन नर्ड फ्रान्सको संयुक्त प्रयासमा तीन वर्षदेखिको परियोजना पुरा भएको समेत जनाउनुभयो ।