Logo

बागमती पेज

माघ २, २०८० मंगलबार

चौधरी ग्रुपले सरकारलाई १६ अर्ब १४ करोड राजस्व बुझायो


काठमाडौं। चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर बुझाएको छ। कुल सरकारी राजस्वमा चौधरी ग्रुपको १.८७ प्रतिशतको योगदान रहेको जनाएको छ।

अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको समयमा आफूहरुको व्यावसायिक कारोबारमा पनि असर परेको भन्दै अघिल्लो आव २०७८/७९ को तुलनामा राजस्व योगदानमासमेत कमी आएको जनाएको छ। गत वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो।

‘अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ। राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ। त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ।’

अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरि लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव बताएका छन्।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरिसकेको छ। आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको ग्रुपले जनाएको

चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलेले बताएका छन्।

खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं नयाँ प्रविधिमा हामीले तीव्ररुपमा लगानी विस्तार गरिरहेका छौं। नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहान्छौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हाम्रो ग्रुप १५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ। हामी नेपालका सातै प्रदेशमा लगानी विस्तार गरिरहेका छौं। यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ।’

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको जनाएको छ।