काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट उम्मेदवार बनेका माधव सापकोटाले आफ्नो निर्वाचन क्षेत्रलाई आर्थिक र प्रविधिको केन्द्र बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।
सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने मूल संकल्पका साथ चुनावी मैदानमा उत्रिएका सापकोटाले आगामी ५ वर्षभित्र स्थानीयस्तरमै ५ हजार युवालाई रोजगारी दिने घोषणा गरेका छन् । विशेषगरी पर्यटन र सूचना प्रविधिको फ्युजनमार्फत सिन्धुपाल्चोकको मुहार फेर्ने उनको दाबी छ ।
सापकोटाको प्रतिवद्धतापत्रमा पर्यटनलाई विशेष जोड दिँदै ‘काठमाडौंबाट एकै दिनमा जुगल’ पुग्न सकिने गरी पूर्वाधार विकास गर्ने उल्लेख छ ।
उनले सुकुटे, तातोपानी र भैरवकुण्डलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय हब बनाउने र पाँचपोखरीदेखि तातोपानीसम्मको पदमार्ग विस्तार गर्ने योजना अघि सारेका छन् । यस्तै, शिक्षामा आमूल परिवर्तनका लागि ‘विद्यालयमै सीप र प्लसटु पछि रोजगारी’ को नीति लागू गर्दै सामुदायिक विद्यालयहरूलाई आवासीय नमुना विद्यालयका रूपमा रूपान्तरण गर्ने उनको अठोट छ ।
जनयुद्धको पृष्ठभूमिबाट आएका र अघिल्लो ३३ महिने कार्यकालमा संसदमा ११६ पटक जनचासोका मुद्दा उठाउन सफल सापकोटाले सुशासन र पारदर्शितालाई आफ्नो मुख्य आधार बनाएका छन् ।
उनले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र विदेशमा रहेका नेपालीलाई बसेकै देशबाट मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्थाका लागि कडा पैरवी गर्ने प्रतिवद्धता जनाएका छन् ।
तातोपानी नाकाको व्यवस्थित सञ्चालन र अरनिको राजमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै उनले ‘तारा’ चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन मतदाताहरूसमक्ष अपिल गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्