काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ र ७ क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको श्री गणेश नौलिन भद्रकाली रथयात्रा सुरु भएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यो जात्रा पाँच दिनसम्म विभिन्न धार्मिक, सांस्कृतिक तथा सामूहिक कार्यक्रमसहित मनाइने भएको हो।
श्री गणेश नौलिन भद्रकाली रथयात्रा सञ्चालन मूल समितिका अध्यक्ष किरण केसीका अनुसार जात्रालाई मौलिक संस्कृति झल्काउने ढंगले व्यवस्थित रूपमा सञ्चालन गर्न तयारी गरिएको छ। उनले धार्मिक परम्परासँगै स्थानीय कला, संस्कृति र समुदायबीचको एकतालाई बलियो बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको जानकारी दिए।
जात्राको पहिलो दिन देवदेवीको पूजा, रथ सजावट तथा धार्मिक विधिअनुसार रथयात्रा सुरु गरिएको छ। पाँच दिनसम्म विभिन्न स्थानमा रथ परिक्रमा, सामूहिक पूजा, धार्मिक अनुष्ठान तथा परम्पराअनुसार बलि दिने कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।
जात्राको दोस्रो दिन दिउँसो ३ बजे विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा नेपाली मौलिक संगीत र स्थानीय कला संस्कृतिको प्रस्तुति रहनेछ। सांस्कृतिक कार्यक्रममा चर्चित ब्यान्ड कुटुम्ब सहित स्थानीय कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
नौलिन भद्रकाली सांस्कृतिक समाजको आयोजनामा हुने कार्यक्रम बुढानीलकण्ठ–७, पाल्चोक क्षेत्रमा सञ्चालन हुनेछ। धार्मिक आस्था, सामुदायिक सद्भाव र मौलिक संस्कृतिको संरक्षणलाई केन्द्रमा राख्दै आयोजना गरिएको जात्राले स्थानीय क्षेत्रमा उत्साह थपेको छ।












प्रतिक्रिया दिनुहोस्