Logo

बागमती पेज

भाद्र २४, २०८१ सोमबार

विदेश पठाउन र कमिसन खान मन्त्रालय नै सक्रिय


काठमाडौँ । पछिल्लो समय एनजिओ तथा अन्य सामाजिक संस्थाले विभिन्न कार्यक्रमका नाममा विदेश पुर्‍याउने र उतै छोडेर आउने गर्दै आएको पाइएको छ । विभिन्न संस्थाले कार्यक्रमका नाममा अस्ट्रेलिया, युके, दक्षिण कोरिया, लगायत विभिन्न देशमा नेपालीहरूलाई लैजाने र उतै छोडेर आउने गरेको पाइएको हो ।

ठुला ओहोदामा रहेका व्यक्तिहरूले विभिन्न सङ्घसंस्थाको सदस्य बनाएर विदेश लाने संस्थाहरू सक्रिय रहेको गोप्य सूचना प्राप्त भएको छ । सो संस्थाहरूलाई त्यस किसिमका अनुमति नदिनका लागि २०८१ भदौ ५ गते परराष्ट्र मन्त्रालयमा निवेदन समेत परेकाले त्यस किसिमका सङ्घसंस्थाको तीव्र अनुगमन गर्नुपर्ने देखिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ०८१ भदौ ५ गते गरेको परराष्ट्रको निवेदन दर्ताले संस्थाका सामान्य सदस्य बनाई कार्यक्रमको नाममा अस्ट्रेलिया जान तयार भएका हेमराज न्यौपाने खत्री, रोश्नी खड्का लगायत दर्जनौँ व्यक्तिको फाइल रोकिएको बुझिएको छ । 

त्यसै गरी दक्षिण कोरिया कार्यक्रममा भाग लिन भनी जान लागेका गणेश कार्की, अमित भट्टराई लगायत अन्य २ दर्जन व्यक्तिहरूको पनि सम्बन्धित मन्त्रालयले छानबिन सुरु गरेको छ । यस्ता किसिमका समस्या समाधानमा सम्बन्धित मन्त्रालयको समयमै ध्यान पुग्न आवश्यक रहेको छ । 

हाल विदेश पठाउन र कमिसन खान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र परराष्ट्र मन्त्रालय नै सक्रिय रहेको गोप्य सूचना बागमती पेजलाई प्राप्त भएको हो ।