Logo

बागमती पेज

१५ मंसिर २०८२, सोमबार

क्यानाडियन इन्स्टिच्युट मिट २०२५ सम्पन्न, ५ सयभन्दा बढी विद्यार्थीले पाए क्यानडा अध्ययनबारे प्रत्यक्ष परामर्श


क्यानाडियन इन्स्टिच्युट मिट २०२५ सम्पन्न, ५ सयभन्दा बढी विद्यार्थीले पाए क्यानडा अध्ययनबारे प्रत्यक्ष परामर्श

काठमाडौँ – क्यानडामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीका लागि गोरेटो एजुकेशनल कन्सल्टेन्सीद्वारा आयोजित ‘क्यानाडियन इन्स्टिच्युट मिट २०५२’ सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार नयाँ बानेश्वरस्थित केन्द्रिय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ५ सयभन्दा बढी विद्यार्थीले क्यानडामा उच्च अध्ययनसम्बन्धी विस्तृत जानकारी लिएका छन्।

मिटमा सहभागी विद्यार्थीहरूले क्यानडाको भिसा प्रक्रिया, आवश्यक कागजात, अध्ययन लागत, त्यहाँको शैक्षिक वातावरण, प्रस्थानअघि गर्नुपर्ने तयारी, शैक्षिक नीतिसहित अध्ययनपछि रोजगारीका अवसरजस्ता विषयमा प्रत्यक्ष रूपमा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट परामर्श पाएका थिए।

गोरेटो एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलका अनुसार, यो मिट क्यानडामा अध्ययन सपना राख्ने नेपाली विद्यार्थीका लागि अत्यन्तै उपयोगी प्लेटफर्म बनेको छ। “विद्यार्थीहरूले आफ्नो लक्ष्य र सम्भावनाबारे प्रत्यक्षरूपमा बुझ्न पाउने मौका पाए, यसले उनीहरूलाई सही निर्णय लिन मद्दत गर्नेछ,” कंडेलले बताए।

फेयरमा क्यानडाका सिमोन फ्रासर (SFU) युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, बो भ्याली कलेज, नर्थ आइल्यान्ड कलेज, कोलम्बिया कलेजसहित १४ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता थियो। विद्यार्थीले आफूले पढ्न चाहेको विषयअनुसार कलेजका पूर्वाधार, करिअर स्कोप, छात्रवृत्ति र अध्ययनपछि उपलब्ध अवसरबारे थप जानकारी लिएका थिए।

कार्यक्रमका संयोजक प्रकाश रेग्मीका अनुसार, क्यानडामा पढ्ने लक्ष्यासहित हिँडिरहेका विद्यार्थीको जिज्ञासा समाधान गर्ने, सही मार्गदर्शन प्रदान गर्ने र प्रत्यक्ष अन्तरक्रियाको वातावरण उपलब्ध गराउने उद्देश्यले ‘क्यानाडियन इन्स्टिच्युट मिट’ आयोजना गरिएको हो। फेयरमा विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको थियो।