Logo

बागमती पेज

१ फाल्गुन २०८२, शुक्रबार

सुशासनको बर्कोभित्र आधा करोड रजाइँ: बालेनले रित्याए ढुकुटी


काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले प्रचलित कानुन र सरकारी प्रक्रियाको धज्जी उडाउँदै महानगरको झण्डै ५३ लाख रुपैयाँ अनियमितता गरेको तथ्य बाहिर आएको छ।

स्थानीय तहका जनप्रतिनिधि वैदेशिक भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई लत्याउँदै बालेनले फ्रान्स, ब्राजिल, भारत र बंगलादेशको सयर गरेका हुन्।

आफूलाई विधिको शासनको पक्षपाती दाबी गर्ने मेयरले राज्यको स्थापित प्रणालीलाई नै चुनौती दिँदै गरेको यो वैदेशिक भ्रमण र त्यसबापत खर्च गरिएको ५२ लाख ५४ हजार रुपैयाँलाई महालेखा परीक्षकको प्रतिवेदनले ‘नियमसम्मत नभएको’ भन्दै बेरुजुको सूचीमा राखेपछि उनको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठेको छ।

जनताले पसिना बगाएर तिरेको करबाट संकलित महानगरको ढुकुटीलाई व्यक्तिगत र विलासी भ्रमणमा खर्चनु र त्यसका लागि आवश्यक पर्ने पूर्व स्वीकृति समेत नलिनुले बालेनको कार्यशैलीमाथि भ्रष्टाचारको गन्ध देखिएको छ। महालेखाको प्रतिवेदनले स्पष्ट रूपमा यो खर्चलाई बेथिति र नियमविपरीत भनेर औंल्याउनुको अर्थ बालेनले सिधै आर्थिक अपराध गरेको देखिन्छ।

नियम पालना नगर्ने र राज्यको निकायलाई नटेर्ने यस्तो प्रवृत्तिले पारदर्शिताको उपहास मात्र गरेको छैन, बरु उनलाई सिधै भ्रष्टाचारको मुद्दा आकर्षित हुने बलियो कानुनी आधार समेत प्रदान गरेको छ।

सुशासनको चर्को नारा दिएर नथाक्ने बालेनले आधा करोडभन्दा बढी रकमको यो गैरकानुनी खर्चबारे अब जनतालाई स्पष्ट जवाफ दिनैपर्छ।