Logo

मेघनाथ पहाडी

१२ चैत्र २०८२, बिहिबार

सांसद क्षितिज थेबेको उदाहरणीय कदम: पहिलो महिनाको तलब जिर्ण विद्यालयलाई समर्पण


काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद क्षितिज थेबेले आफ्नो पहिलो महिनाको तलब विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका छन्। नेकपा एमालेका सांसद थेबेले शपथग्रहण लगत्तै सिदिङवा गाउँपालिका–३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयलाई उक्त सहयोग गर्ने निर्णय गरेका हुन्।

उक्त विद्यालय आफूले अध्ययन गरेको वा घर नजिकको नभएको स्पष्ट पार्दै थेबेले चुनावी प्रचारका क्रममा त्यहाँ पुगेपछि विद्यालयको अवस्था देखेर सहयोग गर्ने प्रेरणा मिलेको बताएका छन्। “त्यहाँ विद्यार्थी सङ्ख्या धेरै भए पनि भवन अत्यन्त जिर्ण अवस्थामा थियो, आवश्यक जग्गा समेत अभावमा थियो,” उनले भने, “त्यही अवस्थाले मलाई व्यक्तिगत रूपमा सहयोगको सुरुवात गर्न प्रेरित गर्‍यो।”

सांसद थेबेले विद्यालयका लागि आवश्यक जग्गा व्यवस्थापन र भवन निर्माणका लागि सम्बन्धित निकायहरूसँग थप पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्। शिक्षामा गरिएको सानो लगानीले पनि बालबालिकाको भविष्य उज्यालो बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।

हाल प्रतिनिधिसभा सदस्यहरूले मासिक ६६ हजार ७० रुपैयाँ तलब पाउने व्यवस्था छ। यसका अतिरिक्त विशेष भत्ता स्वरूप १ हजार रुपैयाँ, सञ्चार खर्चका लागि ३ हजार रुपैयाँ तथा पानी र विद्युत् खर्चका लागि २ हजार रुपैयाँ भत्ता पनि उपलब्ध गराइन्छ।

सांसद थेबेको यो कदमलाई स्थानीय स्तरमा सकारात्मक सन्देशका रूपमा लिइएको छ। शिक्षाको सुधारका लागि जनप्रतिनिधिको यस्तो पहलले अन्यलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।