काठमाडौँ । सवारी साधनमा लेखिएका सायरी, गजल लगायत अनाधिकृत लेख ट्राफिक प्रहरीले हटाउने भएको छ । सवारी साधनमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो ।
नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।
ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका त्यस्ता अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको तथा सडक सभ्यतामा पनि आँच पुर्याएकोले रोक्न लागि परेको जनाएको छ । त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्