Logo

बागमती पेज

माघ १, २०७७ बिहीबार

जी न्यूजले भन्यो – सगरमाथा नेपालकै हो, भारतको होइन…


काठमाडौं । सर्वाेच्च शिखर सगरमाथाबारे प्रसारित सामग्रीपछि भ्रम फैलिएको भन्दै भारतीय च्यानल जी न्यूजले स्पष्टीकरण दिएको छ ।

जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले बुधवार राति प्रसारण भएको आफ्नो कार्यक्रममार्फत आफूले सगरमाथामाथि दाबी पेश गर्न नचाहेको स्पष्ट पारेका छन् ।

तर भारतले सगरमाथालाई ‘माउन्ट सिकन्दर’का नामबाट चिन्नुपर्ने चौधरीको दाबी छ ।

चौधरीले भने, ‘माउन्ट एभरेस्ट त जहाँ छ त्यही रहन्छ । नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भन्ने गरेजस्तै भारतले पनि आफ्ना लागि छुट्टै नाम राख्नको लागि अभियान थाल्नुपर्छ भनेका हौं । हामीले नेपालबाट केही खोस्न चाहेका हाइनौं । माउन्ट एभरेस्ट नेपालकै हो । यो नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ ।’

चौधरीले आफूले नेपाललाई नभई अंग्रेजलाई चुनौती दिन चाहेको बताए । अंग्रेजले राखेको नामलाई लिएर भारतले कहिल्यै चुनौती नदिएको उल्लेख गर्दै चौधरीले अब चुनौती दिने बेला आएको बताएका छन् । माउन्ट एभरेस्टलाई चीन र नेपालमा फरक–फरक नामले सम्बोधन गर्ने गरेको उल्लेख गर्दै चौधरीले भारतले पनि नयाँ नाम राख्नुपर्ने जिकिर गरेका छन् ।

‘हामीले जसरी नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भनेर सम्बोधन गर्छ, भारतले पनि आफ्नै मौलिक नाम राख्नुपर्छ भनेका हौं । भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर भन्नुपर्छ भनेका हौं,’ चौधरीले भने ।

चौधरीले सगरमाथाको नाम माउन्ट सिकदर राख्नको लागि भारतले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘हामीले देशको असली हिरोलाई उनको हक दिलाउनको लागि माउन्ट एभरेस्ट पुगेर एक अभियान सुरू गरेका छौं । यदि तपाईं पनि माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर माउन्ट सिकदर राखियोस् भन्ने चाहनुहुन्छ भनेर सामाजिक सञ्जालमार्फत यो अभियानमा जोडिनुहोस्,’ उनले भनेका छन् ।

चौधरीले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा उतारचढाव आउन नहुने समेत बताएका छन् । ‘नेपालमा जसले हामीलाई हेर्नुहुन्छ, तपाईं हाम्रा लागि खास हुनुहुन्छ । नेपाल र भारतबीच जुन भाइचारको सम्बन्ध छ, त्यो सधै टिकिरहनुपर्छ । सरकार त आउने जाने भइरहन्छ । चुनावमा कहिले कसले जित्छ, कहिले कसले । यसले हाम्रो सम्बन्धलाई प्रभाव पार्नुहुँदैन,’ चौधरीले भने ।