Logo

बागमती पेज

माघ २०, २०७७ मंगलबार

विप्लव नेतालाई नख्खु जेलमै सुटुक्क भेट्न पुगे ओलीका यी मन्त्री, के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सशस्त्र संघर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताको वातावरण बनाउन आफ्ना मन्त्रीलाई निर्देशन दिएका छन् ।

वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका ओलीले चुनाव बिथोल्ने आशंकाले विप्लवलाई फकाउन सरकारले वार्ताको प्रयास गरिरहेको देखाउन खोजेका छन् ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलले दुई वर्ष विप्लव नेकपालाई राजनीतिक प्रतिबन्ध लगाएपछि सो समूहका नेताहरू भूमिगत भएका छन् । यही क्रममा ओली गुटमा पुगेका खानेपानी मन्त्री मणि थापाले विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु जेलमा भेटेका छन् ।

एनसेलको केन्द्रीय कार्यालयमा गराइएको बम विस्फोटको मुख्य योजनाकार रहेको भन्दै ओली सरकारले नेता ओलीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

मन्त्री थापाले मंगलबार बिहान सुटुक्क जेलमा पुगी नेता ओलीलाई भेटेको खुलेको छ । आफूले विप्लब समूहका नेतालाई भेट गरेको मन्त्री थापाले पुष्टि गरेका छन् ।

भेटमा भएको कुराकानीबारे उनले केही बताएका छैनन् । सरकारको तर्फबाट केही नेताले यसअघि नै विप्लव निकटका नेता कार्यकर्तासँग वार्ताका लागि पहल गर्न अनुरोध गरेको बताइन्छ ।

पुष्पकमल दाहाल प्रचण्डलगायतले नेकपा छाडेर आन्दोलन सुरु गरेपछि पूर्वमाओवादी फकाउन प्रधानमन्त्री ओलीले अर्को अस्त्र फ्याँकेका छन् ।