Logo

बागमती पेज

पुस ३, २०७८ शनिबार

जब गोलरक्षकले नै खेल सकिएको थाहा पाएनन्…


एजेन्सी । खेल सकिएको खेलाडीले नै थाहा पाएनन् भन्‍ने सुन्दा अचम्म लाग्न सक्छ। सन्दर्भ हो सन् १९३७ को क्रिसमसको दिन। इङलिस क्लब चार्ल्टनले स्टेम्फोर्ड ब्रिजमा चेल्सीको सामना गर्दै थियो।

चार्ल्टनको गोलपोष्टमा थिए साम बर्ट्राम। प्रतिकूल मौसमका बीचमा खेलाइएको खेलमा दुवै टोलीबीच निकै प्रतिस्पर्धा भइरहेको थियो। पहिलो हाफमा दुवै टोलीबाट १–१ गोल भएको थियो। बाक्लो कुहिरोका कारण ६१ मिनेटमा खेल रद्द भयो। तर, साम मैदानमा नै रहे।

हुस्सुले मैदान ढाकेका कारण सामलाई खेल रद्‍द भएको थाहै भएन। उनलाई लागिरहेको थियो कि आफ्नो टिमले आक्रमण गरिरहेको छ र आफ्नो पोष्टमा बल आएन।

गोलपोष्टको जिम्मा पाएका उनी पूर्ण ध्यान केन्द्रित गर्दै आफ्ना पाखुराहरू फैलाएर चार्ल्टनको पोष्टमा बसे। जब १५ मिनेटपछि प्रहरीले उनलाई खेल सकिएको जानकारी दिए। त्यसबेला उनी अचम्ममा परे।

रेफ्रीको संकेत थाहा नभएपछि चार्ल्टनका गोलरक्षक करिब १५ मिनेट हुस्सु र कुहिरोका बीचमा मैदानमा नै रहे। तर, उता खेल भने रद्द भइसकेको थियो।

साम आफ्नो पोस्टमा रहे पेनाल्टी क्षेत्रको छेउबाट बाक्लो हुस्सुमा हेर्दै। ‘मेरो अगाडि कुहिरोको पर्दाबाट एउटा आकृति निस्कियो। ऊ एक प्रहरी थियो, र उसले मलाई अविश्वासका साथ हेर्‍यो। यहाँ के गर्दै हुनुहुन्छ? उसले श्वास फेर्‍यो। खेल १५ मिनेटअघि नै रोकिएको थियो। मैदान पूर्ण रूपमा खाली छ।’

उनले आफ्नो बायोग्राफीमा लेखेका छन्,‘कति दुःख थियो म गोलपोष्टको रक्षामा थिए तर मेरा साथीहरुले मलाई नै बिर्सिए।’

२२ बर्ष (१९३४–१९५६) चार्ल्टनमा रहँदा उनले ६ सय २३ खेलमा सहभागी भए। जसमा ५ सय ७९ लिग खेल थिए। सन् १९५१ मा अष्ट्रेलिया भ्रमणमा रहेको इङल्यान्ड ११ बाटसमेत सहभागि भए। त्यो इङल्यान्डको बी टिम थियो।

उनी ‘इङ्ल्यान्डको लागि कहिल्यै नखेल्ने उत्कृष्ट गोलकिपर’ को बोझले थलिएका थिए किनभने इङ्ल्याण्ड राष्ट्रिय फुटबल टोलीमा फ्र्याङ्क स्विफ्ट र टेड डिच्वर्न दुवैजना थिए। ४२ वर्षमा समेत मैदानमा देखिए उनी चार्ल्टनका लागि खेल्ने सबैभन्दा बुढा खेलाडीसमेत हुन्।

१९५४ मा उनी ४० वर्षको उमेरमा फुटबलर अफ दी इयरको उपविजेता बनेका थिए। व्यावसायिक खेलाडी करियरपछि उनले न्युयोर्क सिटी र लुटन टाउनको प्रशिक्षकको रुपमा काम गरे। ६७ वर्षको उमेरमा उनको सन् १९८१ मा नै निधन भइसकेको छ। सन् २००५ मा क्लबको शताब्दी मनाउने क्रममा चार्ल्टनले रंगशाला द भ्यालीबाहिर उनको ९ फुटको शालिक बनाएको छ। संन्यासको ५० वर्षपछि चार्ल्टनले सामको सम्मानमा रेष्टुरेन्ट र बार उनकै नामबाट राखेको छ। उनी स्कटिस क्लब फेल्किरिकका फरवार्ड जिम्मी बार्ट्रामका भतिज हुन्।