Logo

मेघनाथ पहाडी

बैशाख ४, २०७९ आईतबार

प्रथम बन्दै ब्लुबर्डले चुम्यो उपाधि


काठमाडौँ । एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिओट्को आयोजनामा भएको प्याट्रिओट्स कपको उपाधिका ब्लुबर्ड कलेजले हात पारेको छ । रोमाञ्चक बनेको फाइनल खेलमा गोल्डेनगेट कलेजलाई १ रनले पराजित गर्दै ब्लुबर्डले प्याट्रियट्स कप अन्तरकलेज ट्वान्टी-२० क्रिकेट प्रतियोगिता जितेको हाे ।

८१ रनको लक्ष्य पाएको गोल्डेनगेट मूलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ७९ रनमा अलआउट भएको कोच सरोज देबकोटाले बागमती पेजलाई जनाए ।

आशुतोष घिरोइयाले ३४ बलमा २७, जव्याङ लामाले ११ र सचिन शर्माले १० रन बनाउन सफल भएका थिए । ब्लुबर्डका विवेक रानामगर, सुवास खत्री र विपिन आचार्यले २-२ तथा तिलकराज भण्डारीले १ विकेट लिए । प्लेयर अफ द फाइनल बनेका विवेकले ४ ओभरमा १४ रनमात्र खर्चे । ब्लुबर्डले उपाधिसहित १ लाख र उपविजेता गोल्डेनगेटले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

यसअघि निर्धारित २० ओभरमा टस जितेको ब्लुबर्ड १८.४ ओभरमा ८० रनमै अलआउट भयो । ब्लुबर्डका तिलकराजले १६ बलमा २१, दुर्गेश क्षेत्रीले १४, विवेकले १२ र दीपक डुम्रेले १० रन बनाए । गोल्डेनगेटका सूर्य तामाङले ४ ओभरमा १० रन खर्चेर ५, रवि शाहले ३.४ ओभरमा २३ रन खर्चेर ४ र आशुतोषले १ विकेट लिए ।

गोल्डेनगेटका तृतराज दास उत्कृष्ट ब्याटर र ब्लुबर्डका विपिन आचार्य उत्कृष्ट बलर भए । गोल्डेनकै रवि शाहले प्लेयर अफ द सिरिजको पुरस्कार जिते । उनलाई २५ हजार प्रदान गरियो । उत्कृष्ट ब्याटर र बलरले जनही १५ हजार पाए ।