Logo

बागमती पेज

श्रावण १२, २०७९ बिहीबार

बालिका बलात्कारपछि हत्याको प्रयास, लगाएको गहना समेत लुटीयो !


काठमाडौँ । अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको बबई गाउँपालिका–४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बालात्कार गरेका थिए । पीडित बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए । बालिकाको टाउकोमा चोटसमेत लागेको छ । घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डीएसपी अर्यालले बताए । पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको हो । ‘बलात्कारपछि बालिकाले कानमा लगाएको सुनका गहना पनि ती किशोरले लगेको देखिएको छ ।

बलात्कारमा संलग्न भनिएका ती बालक दिउँसो ती बालिकाको मामाघर आँप खान भनेर गएका थिए ।

‘ती किशोर आँप टिप्न रूख चढेपछि बालिकाकी आमा र घरका अन्य सदस्य भित्र गएको मौका पारेर बालिकालाई प्रलोभनमा पारी मकैबारी पुर्याई बलात्कार गरेको देखिन्छ,’ डीएसपी अर्यालले भने, ‘बलात्कारमा संलग्न किशोर प्रहरी नियन्त्रणमा छन् र उनको बिगतको छवि पनि राम्रो देखिदैन ।’ बराल्लिएर हिँड्ने उनी विगतमा चोरी गरेको अभियोगमा पक्राउ परेको प्रहरी रेकर्डबाट खुलेको डिएसपी अर्यालले बताए ।

पीडित बालिकाको तर्फबाट मावलीका हजुरबुवाले किटानी जाहेरी दिएका छन् । बुबा छोरीको उपचारका लागि बाँकेमा भएकाले हजुर बुबाले इप्रका तुलसीपुरमा आएर जाहेरी दर्ता गराएको डीएसपी अर्यालले बताए ।

पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कोहलपुरका एक चिकित्सकले जानकारी दिए ।

‘दाङबाट रिफर भएर आएकी बालिकाको अवस्थामा विस्तारै सुधारउन्मुख नै रहेको छ’ ती चिकित्सकले भने, ‘बालिकाको शरिरका विभिन्न भागमा घाउ चोटपटक लागेको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।