Logo

भवानी कार्की

पुस २१, २०७९ बिहीबार

टोखामा चाकु बनाउन भ्याईनभ्याई (फोटोमा हेरौं)


काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै गर्दा टोखामा रहेको चाकु उद्योगीहरुलाई चाकु बनाउन भ्याइनभ्याई रहेको छ । सामान्य अवस्थामा भन्दा यतिबेला चाकु र चाकुका विभिन्न परिकारहरुको माग धेरै हुनेहुँदा यतिबेला चाकु उद्योगीहरु चाकु उत्पादनमा व्यस्त रहेका छन् ।

स्थानीय बुद्ध श्रेष्ठले सञ्चान गरिरहेका काँसीलाल चाकु प्रोडक्सनमा यतिबेला कर्मचारीहरु चाकु बनाउन व्यस्त छन् । बाबु, बाजेको पालादेखी सञ्चालनमा आइरहेको यस उद्योग २० बर्षदेखी आफुले सम्हाल्दै आएको सञ्चालक बुद्ध श्रेष्ठ बताउँछन् । स्थानीय उत्पादनलाई प्रयोग गरेर तयार परिएको चाकु बजारमा सहजै विक्रि वितरण हुने उनको भनाई छ ।

उनी भन्छन्, “हामीले उत्पादन गरेको चाकु बजारीकरणमा समस्या छैन । टोखामा उत्पादित चाकुले पनि बजार माग धानीरहेको छ । सरकारले केही सहज वतावरण बनाइदिने हो भने स्थानीय स्तरमा मात्र नभएर विश्व बजारमा पनि चाकुको व्यापार राम्रो गर्न सकिन्छ । तर सरकारले हामी चाकु व्यवसायीलाई प्रोत्साहन गरेको छैन ।”

काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा शहर चाकुका लागि निकै नै प्रसिद्ध छ । अहिले होलसेलमा प्रति प्याकेट ३० रुपैयाँ देखी एक सय ४० रुपैयाँसम्म पर्दछ ।

एउटा उधोगबाट एक लाख किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आम्दानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठ बताउँछन् । उनको उधोगले वर्षको दुई महिना मंसिर र पुसमा नेपाली कामदारलाई रोजगारी पनि दिइरहेको छ ।

शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती गरिन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिने परम्परा थियो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार छ । माघे संक्रान्ति नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।