Logo


काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ स्थित मकैबारी गाउँ तरकारीमा लोकप्रीय बन्दै गएको छ । कुनै समय वर्ष भरीको कमाइले ६ महिना धान्न मुस्किल हुने यस गाउँमा अहिले तरकारी खेती गरेर किसानले मनग्य आम्दानी गर्दे आएका छन् ।

किसानहरुले थोरै जग्गामा पनि धेरै आम्दानी गर्दे आएका छन् । हरिया तरकारीका कारण यतीबेला बेमौसमी समयमा पनि गाउँनै हरियाली देखिएको छ । धेरै तरकारी उत्पादन हुने भएकाले गाउँको परिचय मात्र नभएर गाउँलेको जीवनशैली पनि फेरिएको छ ।

यतिबेला मकैबारीका प्रत्येक घरमा साग बेच्ने चटारो छ । गाउँका १५० भन्दा बढी कृषकले व्यवसायीक साग खेती गरेका छन् । छोटो समयमा धेरै आम्दानी हुने भएकाले  किसान साग खेतीमा आकर्षित भएका हुन् ।

यो वर्ष सागबाट ३ करोडको आम्दानी हुने मकैबारीका किसानको अनुमान छ । यतिबेला माटोबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मकैबारीका किसानबाट पाउन सकिन्छ ।

वडाले नमूना कृषि तथा प्राङ्गरिक खेती युवा स्वरोजगार उद्यम विकास कार्यक्रम ल्याएको छ । यसरी विभिन्न कार्यक्रम तथा कृषि अनुदानले कृषकलाई प्रोत्साहन गर्ने गरेको वडा नम्बर ७ का वडाध्यक्ष विनोद तामाङले बागमती पेजलाई बताए ।

मकैबारीबाट उत्पादन गरिएको हरियो तरकारी देशकै ठूलो तरकारी बजार कलिमाटी र तराईमा समेत निर्यात गरिन्छ । किसानले तरकारीमा आलु, काउली, बन्दा, गाँजर, मुला, काक्रो लगायतका मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गर्दै आईरहेका छन् ।

किसानले उत्पादन गरेको तरकारी बारिबाटै ठेकेदारले उठाउँदै आईरहेका छन् । त्यसबाहेक नजिकैको चरिकोट बजारमा बिक्रिवितरण गर्दै आईरहेका छन् ।

आफूले उत्पादन गरेको तरकारीको उचित भाउ नआउदा दुःख लाग्ने किसानहरुको गुनासो रहँदै आएको छ । बिचौलियाले नाफा खानाले उचित मूल्य नपाएको किसानहरु बताउछन् ।