Logo

भवानी कार्की

मंसिर ७, २०७९ बुधबार

दोलखा अपडेट: बुथ कब्जा गरेको एमालेको आरोप, गणना शुरु नहुँदा गठबन्धनको आपत्ति !


काठमाडौँ । संघिय तथा प्रदेशसभाको मतदान भएको ४ दिन बितिसकेको छ । देशभरबाट निर्वाचनको नतिजा धमाधम आईरहेको छ । तर सोही दिन निर्वाचन भएको दोलखामा आजसम्म पनि मत गणना शुरु हुन सकेको छैन ।

जिल्लाका ९ वटा मतदान स्थलको मत पेटिका(बुथ)कब्जा गरेको नेकपा एमालेका उम्मेदावरहरुले नै आरोप लगाएका छन् । तर नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति तथा दोलखा प्रदेशसभा २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका बर्मा लामाले दोलखामा मत गणना शुरु नहुनु आपत्ति रहेको बताए ।

बागमती पेज सँगको कुराकानीमा उम्मेदवार लामाले निर्वाचनको ४ दिन बितिसक्दापनि मत गणना नहुँदा मत गणनाको माग गर्दे उम्मेदवारले घोर आपत्ति जनाएका हुन् । दोलखामा जित सुनिश्चित हुने भएपछि एमालेले गठबन्धनलाई दुःख दिन निर्वाचन आयोगमा उजुरी दिएको आरोप समेत उनको आरोप छ ।

उम्मेदवार लामाले भने, “एमालेको लाल किल्ला गठबन्धनले तोड्ने भएपछि बुथ कब्जा भएको आरोप लगाई प्रतिपक्षले निर्वाचन अयोगमा उजुरी दिएका छन् । जिल्लाका निर्वाचन अधिकृत र मतदान अधिकृत समेत एमालेको प्रभावमा परेर मत गणनामा ढिलाइ भएको हो ।”

त्यस्तै नेकपा (एमाले) दोलखा प्रदेश सभा २ का उम्मेदवार भरत बहादुर केसीले गठबन्धनले दोलखाका ९ केन्द्रका बुथ कब्जा गरेपछि निर्वाचन आयोगमा उजुरी दिएको भन्दै निर्वाचन आयोगको निर्णयमा प्रतिक्षा गरेको बताए ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिटब्यरो सदस्य गङ्गा कार्की, प्रदेश १ का उम्मेदवार कुन्दनराज काफ्ले मतपेटिका भएको भवन गौरीशङ्कर बहुमुखी क्यापस अगाडि धर्नामा समेत बसेका छन् ।

निर्वाचनका दिन दोलखाका विभिन्न ठाउँमा झडप हुँदा प्रहरीले २६ राउन्ड हवाई फायर गरेको थियो । निर्वाचनको केही दिन बितिसक्दा पनि दोलखामा मतगणना हुन सकेको छैन ।

मत गणनाको माग गर्दे गठबन्धनका नेता तथा कार्यकर्ताहरू मत पेटिका राखेको स्थान लगायत अन्य स्थानमा नाराबाजी गरिरहेका छन् ।

दोलखा ‘बुथ कब्जा’को कलंक कहिलेसम्म !